इटली नजिकै समुद्रमा डुङ्गा पल्टियाे : ४१ आप्रवासीको मृत्यु

एजेन्सी

बुधबार, २४ साउन २०८०, १६ : १५
इटली नजिकै समुद्रमा डुङ्गा पल्टियाे : ४१ आप्रवासीको मृत्यु

इटली । इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा उनीहरू ट्युनिसियाबाट इटली जान लागेको बताए । 

यी चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधवार उनीहरू लेन्पेडुसा पुगे । उनीहरूका अनुसार स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार भए तर केही घण्टापछि नै उनीहरू चढेको डुङ्गा डुब्यो । त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले उनीहरूलाई बचाएको र इटलीको कोस्ट गार्डलाई सुम्पिएको बताए । 

कोस्ट गार्डका अनुसार आइतबार यो इलाकामा दुई वटा डुङ्गा डुबेका थिए तर यी बाँचेका मानिस कुन डुङ्गाका हुन् भन्ने स्पष्ट जानकारी छैन ।उत्तरी अफ्रिकाबाट युरोप जानका लागि समुद्र पार गर्ने कोसिसमा यस वर्ष हालसम्म १८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

ट्युनिसिया प्रशासनका अनुसार लेन्पेडुसाबाट १३० किलोमिटर टाढा ट्युनिसियाको स्फेक्स पोर्ट सिटी प्रवासीलाई गैर कानुनी तरिकाले लैजाने एक प्रमुख स्थान हो ।हालैका दिनमा इटालीको निगरानी डुङ्गा र समाजसेवी संस्थाले लेन्डुसा पुग्ने २०० जनाको ज्यान जोगाएका छन् । 

प्रतिक्रिया दिनुहोस