मालपोत कार्यालय वीरगंजका अधिकृतसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १३ : २१
मालपोत कार्यालय वीरगंजका अधिकृतसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं। मालपोत कार्यालय, वीरगंजका अधिकृत हरिनारायण मिश्रसहित ६ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । मिश्रसहित ६ जनामाथि ४ लाख बढी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा अधिकृत मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र ना.सु. लेखनाथ भट्टराईले ४ लाख २५ हजार ४३१ रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पृष्टि भएको हो ।

उनीहरु सबै मिलेर फाँट “क” बाट १७ वटा र फाँट “ग” बाट २ वटा लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट ४ लाख २५ हजार ४३१ रुपैयाँ राजस्व चुहावट भएको देखिएको अख्तियारले जनाएको छ ।

उनीहरुमाथि जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस