महिला विश्वकप : स्पेन पहिलोपटक क्वार्टरफाइनलमा

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, १६ : २६
महिला विश्वकप : स्पेन पहिलोपटक क्वार्टरफाइनलमा

वेलिङटन । स्वीटजरल्याण्डमाथि शानदार जीत हासिल गर्दै स्पेन न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनले ५–१ गोलअन्तरले स्वीटजरल्याण्डलाई हराउँदै पहिलोपटक प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

ऐटाना बोनमाटीले खेलको पाँचौँ मिनेटमा स्पेनलाई अग्रता दिलाएपनि ११ औँ मिनेटमा लाइया कोडिनाले आत्मघाती गोल गरेपछि स्वीटजरल्याण्ड खेलमा फर्किएको थियो । तर, त्यसपछि भने स्पेनले गोलको वर्षा गर्‍यो । १७ औँ मिनेटमा अल्बा रेडोन्डोले स्पेनलाई पुनः अग्रता दिलाइन् ।

३६ औँ मिनेटमा बोनमाटीले खेलमा आफ्नो दोस्रो गोल गरिन् भने कोडिनाले आत्मघाती गोलको बदलामा अर्को गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् ।दोस्रो हाफमा जेनिफर हरमोसोले अर्को गोल थप्दै स्पेनलाई उत्कृष्ट जीत दिलाइन् । अब स्पेनले क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीचको विजेताको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस