प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, १२ : ५३
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औं सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित दिएका हुन् ।

‘‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्”, उनले भने ।प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिए ।

विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए ।

सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैंमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ थियो । 

विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस