संवैधानिक परिषद्‌को बैठक बस्दै, सिफारिस होला नयाँ प्रधानन्यायाधीशको नाम?

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, ०९ : २६
संवैधानिक परिषद्‌को बैठक बस्दै, सिफारिस होला नयाँ प्रधानन्यायाधीशको नाम?

File pic

काठमाडौं । संवैधानिक परिषद्‌को बैठक मंगलबार बस्दैछ। आज अपराह्न ४ बजे बस्ने बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने बताइएकाे छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगकाे छलफलमा चाँडै संवैधानिक परिषद् बैठक बोलाउने सहमति भएको थियाे।

साेही सहमतिअनुसार आजका लागि  संवैधानिक परिषद्को बैठक आह्वान गरिएकाे हाे।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

आज बस्ने ‍बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ।

२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेसँगै न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम लिएका थिए। उनले करिब ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका थिए। त्यसपश्चात् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्।

संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस