कोशीको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, सभामुखले राजीनामा गर्लान् ?

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, ०८ : ५४
कोशीको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, सभामुखले राजीनामा गर्लान् ?

काठमाडौ । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि राप्रपाले गठबन्धनलाई नसघाउने भएपछि सभामुख बाबुराम गौतमको राजीनामा गराउने तयारी गरिँदैछ ।

राप्रपाले तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि सभामुख गौतमको राजीनामा गराउने विषयमा छलफल चलिरहेको एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका प्रदेशसभा सदस्य राजेन्द्र राईले बताए ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

दाबी पेश गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा आज मंगलवार सकिँदैछ । उनले १६ गते बेलुका ५ बजेसम्मको समय दिएका थिए ।

गठबन्धन दलहरूबीच जसको नेतृत्वमा जाँदा बहुमत जुट्छ, उसकै नेतृत्वमा जाने सहमति भएको छ । स्रोतका अनुसार उद्धव थापाकै नेतृत्वमा सरकारको दाबी पेश हुनेछ । प्रस्ट बहुमत नदेखिएकाले यसअघि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको दाबी गरेका छैनन् । त्यो अवस्थामा थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

नेपाली कांग्रेसले उद्धव थापाकै नेतृत्वमा सरकारको दाबी हुने बताएको छ । गठबन्धनका केन्द्रीय नेताहरूले आज मंगलवार मुख्यमन्त्री टुंगो लगाउने राईले बताए । 

सभामुख गौतमले राजीनामा दिएमा सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था छ । सर्वाेच्च अदालतले गत ११ गते संवैधानिक प्रक्रियाअनुसार गठन नभएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई २२ दिनमै बर्खास्त गरिदिएको थियो । थापा नेतृत्वको सरकार गत असार २१ गते गठन भएको थियो ।

सर्वाेच्चको आदेशपछि कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न साउन १६ गतेसम्मको समय दिएका छन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न उनले समय दिएका हुन् । सर्वाेच्चको आदेशमा भने सोही धारा र उपधारा अनुसार साउन १७ गतेसम्ममा सरकार गठनको दाबी पेश गर्न समयसीमा दिएको छ ।

गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । उनले राजीनामा दिएको अवस्थामा भने गठबन्धनसँग बहुमत पुग्ने संख्या ४७ हुनेछ । त्यही कारण पनि सभामुखलाई राजीनामा गराउन गठबन्धन दलहरू छलफलमा छन् । यद्यपी सभामुख गौतमले भने विश्वासको मत पाउने आधार नभई राजीनामा नदिने अडान लिएका छन् । 

प्रतिक्रिया दिनुहोस