आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, ०६ : ५४
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

काठमाडौ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज आइतवार मनाइँदैछ ।

यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ ।

यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको  पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौं मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । गरीबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागूऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मानव बेचबिखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार  पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।
 
मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानूनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।
  
‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानून अपुग र अव्यावहारिक छ,’ समाजशास्त्री मीना पौडेल भन्छिन्, ‘पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ । अहिले महिला मात्र होइन, पुरुष पनि यसको जोखिममा छन् ।’

प्रतिक्रिया दिनुहोस