रौतहटमा ६ दलको संयुक्त भनिएको कुनैपनि कार्यक्रममा हाम्रो संलग्नता छैन : जनमत पार्टी

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १९ : १०
रौतहटमा ६ दलको संयुक्त भनिएको कुनैपनि कार्यक्रममा हाम्रो संलग्नता छैन : जनमत पार्टी

काठमाडौं । जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले केही दिनदेखि रौतहतको गौरमा भैरहेको ६ दलको सर्वदलीय÷सर्वपक्षीय संघर्ष समिति, रौतहटको नामबाट भएको प्रेस विज्ञप्ती जारी, धर्ना, जुलुश र ज्ञापनपत्र लगायतका अन्य कुनैपनि क्रियाकलापमा आफ्नो दलको संलग्नता नभएको स्पष्ट पारेको छ। सो दलका जिल्ला इन्चार्ज वृजकिशोर यादवले आज एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।

पछिल्लो समय गौर हत्याकाण्डका पीडितहरुले रौतहटको गौरमा जुलुश निकालेर न्यायको अपिल गरेका थिए । उनीहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवको नाममा नारा लगाएर गौर हत्याकाण्डको मुख्य दोषी भन्दै उनलाई कारबाहीको माग गरेका थिए । त्यसको काउन्टरमा जनता समाजवादी पार्टीले रौतहटमा ६ दलको नाममा संयुक्त जुलुश निकालेको थियो ।

जसमा जनमत पार्टीको पनि नाम थियो । तर, आज सो दलले विज्ञप्ती निकालेर ६ दलको कुनैपनि कार्यक्रममा आफूहरुको संलग्नता नभएको जिकिर गरेको छ। यस्तै, यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि सो ६ दलको भनिएको कुनैपनि कार्यक्रममा आफ्नो दलको संलग्नता नभएको स्पष्ट पारिसकेको छ ।

गौर हत्याकाण्डको विषयमा अहिले उपेन्द्र यादव र प्रभु साह आमनेसामने भएका छन् । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पीडितहरुको न्यायको लागि साथ दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस