अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको भूमिका आवश्यक : अर्थमन्त्री महत

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, १३ : ५४
अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको भूमिका आवश्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन ।

विहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन। अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए ।

उनले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताए । अर्थमन्त्रीले करिव एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए। उनले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्यूनिकरण गर्न सकिने बताए । उनले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भूमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गरे ।

अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्नुपर्ने बताए । उनले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रविद्धता जनाए। अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानूनी रुपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरुले निगरानी गर्नुपर्ने बताए ।

उनले अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरुले सतर्कताका साथ काम गर्नुपर्ने बताए ।उनले आउँदा दिनमा कुनैपनि छुट, कुनैपनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्ने निर्देशन दिएको बताए। अर्थमन्त्री महतले त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस