नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति सैनिक हिरासतमा

एजेन्सी

विहीबार, ११ साउन २०८०, १० : २६
नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति सैनिक हिरासतमा

एजेन्सी । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । नाइजरका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै सत्ता हातमा लिएको बीबीसीले जनाएको छ । 

राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् । कर्नेल अमादु अब्दराम अन्य नौ जना सैनिक अधिकृतहरूसँगै बसेर टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए ।

सम्बोधनमा उनले देशको सुरक्षा व्यवस्था लगातार बिग्रिँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।

सबै स्थल र हवाई सीमा बन्द गरिएको छ। अर्को सूचना नआएसम्म रात्रि कर्फ्यू लाग्ने बताएका छन् ।

समाचारमा जनाइएअनुसार राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा राखिएको छ । नाइजरका राष्ट्रपति बाजुमलाई बुधवार बिहानैदेखि राष्ट्रपति गार्डको सेनाले नियन्त्रणमा लिएको छ ।

सबै बाह्य साझेदारहरूलाई हस्तक्षेप नगर्न उनले आग्रह गरेका छन् । 

राष्ट्रपति समर्थकहरूले भने राष्ट्रपति मोहम्मद बजुमलाई ​रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस