खाद्य असुरक्षाविरुद्धको लडाइँ दृढताका साथ लड्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, २० : ४५
खाद्य असुरक्षाविरुद्धको लडाइँ दृढताका साथ लड्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझ दृढताका साथ लड्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आज सम्बोधन गर्दै उनले नेपालको खाद्य प्रणालीमा परिवर्तन गर्नु पनि भोक विरुद्धको लड्ने अस्त्र भएको बताएका हुन ।

‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको समेत उल्लेख गरे ।

त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको उल्लेख गरे ।

अल्पविकसित देशले पर्याप्त भण्डारणको अभाव, बजार, शीत भण्डारण, न्यून यान्त्रिकीकरण, उच्च उत्पादन लागत, कमजोर बजार पहुँच र असमान वितरण प्रणालीजस्ता समस्या भोग्नुपरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस