चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, ०९ : १९
चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये बाघ र गैंडाको आक्रमणबाट ५/५ जनाको मृत्यु भएको छ भने २ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।
 
उनीहरूलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरूप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई ४ लाख २७ हजार १२८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।
 
हात्तीको आक्रमणबाट १७, गैंडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट ७, भालुको आक्रमणबाट ७, जंगली बँदेलको आक्रमणबाट ६ जना घाइते भएका निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
 
जंगली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्यांकले देखाएको छ । यसको राहत स्वरूप ३१ लाख ३८ हजार ४०० रुपैयाँ प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । 

सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत २ लाख ३४ हजार ९०० रुपैयाँ भुक्तानी गरिएको छ । अन्नबालीमा क्षति ५१७ पटक गरेको पाइएको छ । जसको राहत स्वरूप निकुञ्जले ३९ लाख ५८ हजार ६२५ रुपैयाँ भुक्तानी गरेको छ ।
 
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन् । यसको राहतस्वरूप निकुञ्जले २ करोड ३० लाख ९० हजार ६९ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस