एनआरएनए यूकेमा 'फेस भेरिफिकेशन' प्रक्रियाद्वारा मतदान हुँदै

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १६ : २२
एनआरएनए यूकेमा 'फेस भेरिफिकेशन' प्रक्रियाद्वारा मतदान हुँदै

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अनलाइन मतदान सुरु भएको छ । आज शनिबार बिहान ६ बजे सुरु भएको अनलाइन मतदान राती मध्यरातसम्म खुला रहनेछ।आगामी दुई वर्षे नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको मतदानमा ४ हजार १ सय ८३ सदस्य मतदाता रहेका छन् ।

एनआरएनए यूकेमा पहिलोपटक क्यामेराको सहायतामा फेस भेरिफिकेसन प्रविधिको प्रयोग गरी  मतदान गराइएको हो ।सन् २०२३-२५ को कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भए पनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आईसीसी सदस्य पदमा भने निर्वाचन हुन लागेको छ । त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषद्को अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।

एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कँडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ । अनलाइन मतदान गराउने कम्पनी ‘भेरो’ले मतदान प्रक्रियाको जिम्मा लिएको र मतदान सम्पन्न भएको  तीन घण्टाभित्र नतिजा उपलब्ध गराउने बताएको छ ।भोलि आइतबार लन्डनस्थित ह्यारोमा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस