केन्द्र र ७ वटै प्रदेशका सभामुख र उपसभामुखको चन्द्रागिरीमा भेला

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १४ : ०३
केन्द्र र ७ वटै प्रदेशका सभामुख र उपसभामुखको चन्द्रागिरीमा भेला

काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा संघीय संसदका सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख, उपसभामुख लगायत भेला भएका छन् । शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी छ ।

शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आफ्नो अनुभवसहित धारणा राखिरहेका छन् ।  सभामुख घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने– ‘आशा छ संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ ।’ 

सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिएका छन् । उनले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।  २०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरु संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।  आइतबार संसद भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रियसभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुख समेतको उपस्थितिमा भेलाका निष्कर्षहरु सुनाउने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस