सबै क्रियाशील सदस्यबाट सभापति चुन्ने व्यवस्था गरौं : प्रदीप पौडेल

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १४ : ४१
सबै क्रियाशील सदस्यबाट सभापति चुन्ने व्यवस्था गरौं : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।  शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले पार्टीका सबै तहका चुनाव प्रत्यक्ष हुनुपर्ने बताए । ‘पार्टीको सभापतिसहित नेतृत्व चुन्ने चुनावमा सबै सदस्यले भोट हाल्ने व्यवस्था गरौं,’ उनले भने ।

प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छनौट गर्नुपर्ने उनको भनाइ छ। ‘प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौं । हामीले पार्टीको एउटा व्यक्तिलाई चारपटक भन्दा बढी संघीय सांसद्को टिकट दिनुहुँदैन । प्रदेशमा २ पटक र समानुपातिकमा १ पटक मात्रै अवसर दिने प्रबन्ध गरौं,’ उनको प्रस्ताव छ ।

विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको पनि पौडेलले बताए । संकट पार लगाउन सिटामोलले नपुग्ने, सर्जरी नै गर्नुपर्ने उनको भनाइ छ। ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरूरी छ,’ उनी भन्छन्, ‘अहिले पार्टीको स्वास्थ्यमा गम्भीर समस्या छ।  सिटामोलबाट हल हुने अवस्था छैन, सर्जरीकै खाँचो छ ।’ उनले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने बताए । त्यसका लागि महामन्त्रीहरूले पेश गरेको एजेन्डा मात्र पर्याप्त नहुने उनको भनाइ छ ।

पौडेलले कांग्रेसको सदस्यता वितरण खुकुलो बनाउनुपर्ने बताए। ‘कांग्रेस मासबेस पार्टी हो। यहाँ सदस्यताको वर्गीकरण गर्न हुँदैन। लिन चाहनेलाई सजिलोसँग सदस्यता दिनुपर्छ,’ उनले भने।

उनले निर्वाचन प्रणाली बदल्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । प्रतिनिधिसभा समावेशीसहित २०१ सिटको पूर्ण प्रत्यक्ष हुनुपर्ने उनको भनाइ छ। राष्ट्रियसभा समावेशीसहित ३५ सिटको बनाउन सकिने उनले बताए।

कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समिति बसेर अनुमोदन नभए बदर हुने व्यवस्था गर्न पौडलको माग छ। भ्रष्टाचारमा जोडिएकाहरूलाई छानबिनमा सहयोग गरिनुपर्ने उनको  भनाइ छ । ‘गणतन्त्रपछिका चर्चित घटनाको छानबिनको नेतृत्व कांग्रेसले गर्नुपर्छ। उच्‍च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ,’ उनले भने।  अहिले सरकारमा बसेर काम नगर्ने हो भने २०८४ को चुनावमा जनतासँग गएर भोट माग्ने आधारसमेत बाँकी नरहने उनले बताए।

प्रतिक्रिया दिनुहोस