महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्टजस्तो भयो : आरजु राणा

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, ११ : ५४
महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्टजस्तो भयो : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन दूरगामी खालको नदेखिएको टिप्पणी गरेकी छन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा आज चौथो दिन सुरूमै आरजुले सम्बोधन गरेकी थिइन् । उनले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्नेमा त्यो नभएको बताइन् ।

बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति आरजुले प्रश्न उठाएकी हुन् । उनले भनिन्, ‘देश कतातिर जाने राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन । म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’

राणाले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गरेकी छन् । घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो ।

आरजुले भनिन्, ‘हाम्रा मन्त्रीहरू प्रिपिअर नै हुनुहुन्छ । सिक्दासिक्दै नबुझी मन्त्रालय गइसक्छ । पार्टीभित्र मन्त्रालयको लिंक हुनुपर्‍यो । घोषणापत्रसँग सरकाको नीति, काम नियम लिंक गर्नुपर्‍यो । चुनावसँग मात्र हो र घोषणापत्र ? अनिमात्र भोट बैंक बढ्छ ।’

उनले संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता राख्नुपर्ने बताएकी छन् ।‘नम्बर बढाएर केही हुँदैन । वडामा सदस्यमात्र बढाएर हुँदैन, क्रियाशील सदस्यभन्दा कम भोट आएका वडाहरू मलाई थाहा छ’, आरजुले भनिन् ।

सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पोखिन् । उनले थपिन्, ‘आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्‍यो । राजनीति कहिल्यै पनि सहज छैन । राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुपर्‍यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं । कसैले पनि हराउन सक्दैन ।’

 

 

प्रतिक्रिया दिनुहोस