पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि विप्लवलाई छट्पटी, घोषणा गरे नेपाल बन्द

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०७५, १६ : १४
पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि विप्लवलाई छट्पटी, घोषणा गरे नेपाल बन्द

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ मंगलबार राति काठमाडौंबाट पक्राउ परेका छन् । पार्टी प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि छट्पटिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै साउन २९ गते नेपाल बन्द घोषणा गरेका छन् ।

जबर्जस्ती चन्दा उठाएको आरोपमा राजधानीबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए । प्रवक्ता प्रकाण्डलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला विभिन्न स्थानमा बम विस्फोट गराएको, चन्दा असुली व्यापक बनाएको, धम्की लगायतका उजुरी विप्लव माओवादीका विभिन्न नेता तथा कार्यकर्ताविरुद्ध परेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रकाण्डविरुद्ध यी विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
पार्टी स्रोतका अनुसार काठमाडौँ आउने क्रममा प्रवक्ता प्रकाण्डलाई मंगलबार राति नागढुंगाबाट पक्राउ गरेको हो । उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा उनी नागढुंगाबाट समातिएको स्रोतको दाबी छ । बिकका सहयोगी प्रेम दर्नाल पनि पक्राउ परेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि नागढुंगाबाटै पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीर पक्राउ परेका थिए । त्यस्तै पोलिटब्युरो सदस्यहरु पदम राई र ओम प्रकाश पुन पनि पक्राउ परिसकेका छन् ।
कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा २०२५ सालमा जन्मेका बिक २०५२ सालदेखि माओवादीको पूर्णकालीन सदस्य बनेर जनुयुद्धमा होमिएका नेता हुन् । प्रकाण्डले ०४६ सालमा प्रचण्डनिकट अखिल नेपाल युवक संघबाट राजनीति सुरु गरेका उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए । माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागे । जनयुद्धमा लागेका बेला खड्गबहादुर दुई जना भाइ सिंहबहादुर बिक र अमरबहादुर बिक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस