मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध

रासस

सोमबार, ०१ साउन २०८०, १४ : ०४
मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध

हेटौँडा । मकवानपुरका तीन स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आजदेखि यस्ता पदार्थ  निषेध गर्न लागेका हुन् ।

मनहरि गाउँपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पुर्याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ । उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम  उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाको आधारमा यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए । “‘सार्वजनिक स्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एकसय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशन नमान्ने जोकोहीलाई रु २५ हजारदेखि रु ५० हजारसम्म जरिवाना गरिने छ,” उनले भने । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्न लागिएको प्रवक्ता न्यौपानेले  बताए । 

मनहरि र हेटौडाजस्तै बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै आफ्नो पालिकालाई लागु औषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागु औषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ ।  गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागु पदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सूचना जारी गरेको बताए । “हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ, ” उनले बताए।

प्रतिक्रिया दिनुहोस