चितवनमा दैनिक १ लाख लिटर दूध प्रशोधन

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, ०८ : १९
चितवनमा दैनिक १ लाख लिटर दूध प्रशोधन

चितवन । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक १ लाख लिटर दूध प्रशोधन गरिरहेको छ ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक १ लाख लिटर दूध प्रशोधन पुर्‍याएको हो ।

कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तंग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म  उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक ३०० बोरा पाउडर र ३५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए । उनका अनुसार अहिले उत्पादनले गोदाम भरिएको बताए ।

‘जसले दूध ल्याउँछ, उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्,’ उनले भने, ‘१० दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौं ।’

१ लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर मिल्कको ४०० देखि ५०० को बीचमा मूल्य पर्छ । १ किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट १ किलो पाउडर बन्छ ।

असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उनले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए ।

‘जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो,’ उनले भने ।

विक्रम संवत् २०७२ सालको भूकम्पपछि ३ वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । ‘यहाँ प्रयोग भएको मशिन जर्मन प्रविधिको हो

 एउटा सामान बिग्रेपनि जर्मनबाट ल्याउनुपर्छ,’ उनले भने । शुरूमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताए ।

अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उनले जानकारी दिए ।