एनआरएनए अस्ट्रेलियाकोअध्यक्षमा डिला खरेलले गरे उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, १९ : २०
एनआरएनए अस्ट्रेलियाकोअध्यक्षमा डिला खरेलले गरे उम्मेदवारी घोषणा

साउथवेल्स। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा  एनआरएन अभियन्ता डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् । न्यू साउथ वेल्समा आइत्बार आयोजित एक समारोहकाबिच खरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।

गुल्मीमा जन्मिएर चितवन थातथलो रहेका खरेल गएको १७  वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । सन् २००६ मा अस्ट्रेलिया पुगेका खरेल अहिले लेखा, वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको प्रमुख भएर काम गरिरहेका छन् । जुलाई २९ तारिखमा हुने एनआरएन अस्ट्रेलिया एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका खरेलले आफूसँग स्पष्ट मिसन र भिजन भएकाले मत पाउने अपेक्षा गरेको बताए ।

सन् २०१५ देखि २०१७ सम्मको कार्यकालमा कोषाध्यक्ष रहेका खरेलले विगतमा आफूले उठाउने पारदर्शीताको मुद्दालाई अबको कार्यकालमा पनि खरोरुपमा उठाउने प्रतिवद्धता जनाएका छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अस्ट्रेलियामा समस्यामा पर्नेहरुलाई सहयोग गर्न विशेष योजना ल्याउने उनले बताएका छन्  ।

नेपाली समुदायलाई अष्ट्रेलियाको सरकारले राम्रो मान्छ । तर, नेपाल र नेपाली समुदायले त्यसको लाभ लिन सकेको छैन । अष्ट्रेलियाली सरकारसम्म पहुँच नहुँदा पनि त्यसो भएको हुनसक्ने उनको बुझाइ छ । अष्ट्रेलिया सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने उनको अर्को अजेण्डा छ ।

नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने उनको मुख्य अजेण्डा नै छ । दूतावासलाई थप प्रभावकारी बनाउने र प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना उनको छ । उद्यमी सम्मेलनको अन्तर्य ‘एक लगानीः एक रोजगारी’ नीतिको प्रभावकारी कार्यान्वयन पनि उनको अर्को अजेण्डा हो ।

‘एनआरएनए सबैको साझा संगठन हो, यसलाई सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’, उनले बताए  । उनले 'हाम्रो एनआरएन राम्रो एनआरएन' बनाउन सहयोग गर्न अष्ट्रेलियावासी नेपालीहरुलाई अपिल पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस