काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपाली राजनीतिलाई तरंगित बनाइरहेका बेला सरदार प्रितम सिंहले आफ्नो धारणा सार्वजनिक गरेका छन्। बुधबार सञ्चारकर्मीहरूमाझ उनले आफू नेपाल र भारतबीचको सम्बन्ध सुधारका निम्ति दिल्ली गएको प्रस्टीकरण दिएका छन्।
उनले प्रधानमन्त्री दाहालले त्यसो भनेर आफूप्रति माया देखाएको स्पष्ट पारे। 'उहाँले जे भन्नुभयो। हामीप्रति माया देखाउनलाई भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन,' उनले भने। सोही क्रममा सिंहका छोराले आफूहरूबीच पारिवारिक सम्बन्ध रहेको बताए।
उनले नेपालमाथि नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती भएको स्पष्ट पारे। 'नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती थियो। त्यही बेला म दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको हुँ। राजनीतिक विषयमा कुनै पनि छलफल भएको छैन,' उनले भने।
उनले भूकम्पका बेला आफूले भारतबाट खाद्यान्न ल्याएर सहयोग गरेको बताए। 'भूकम्पका बेला पनि भारत गएर ५-७ करोडको खाद्यान्न ल्याएको हुँ। हामीले दिनहुँ खाना खुवाएर आपतकालमा सहयोग गरेका छौं,' उनले भने। उनले आफ्नो जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाल रहेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १९ : ५८
लेखकबाट थप