देउवा पाँच–पाँच पटक प्रधानमन्त्री भाग्यले होइन योग्यताले हुनुभएको हो : परराष्ट्रमन्त्री साउद

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १३ : २६
देउवा पाँच–पाँच पटक प्रधानमन्त्री भाग्यले होइन योग्यताले हुनुभएको हो : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री भएको बताएका छन् । नेपाली कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘धेरै मान्छेले भन्छन् –शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन।’

 

पाँच– पाँच पटक कुनै पनि माान्छेलाई लट्री नपर्ने साउदको भनाइ छ । ‘तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ?,’ उनको प्रश्न छ, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’ नेतामा योग्यता, पार्टीको विचार र चिन्तनले देउवा पाँच पटक प्रधानमन्त्री भएको उनले बताए । ‘किनभने यो पार्टी सबै पार्टीलाई सँगसँगै लैजान सक्ने पार्टी हो। अन्तराष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौं।’

 

लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने भन्दै लोकतन्त्रमा सबैभन्दा भरपर्दो पार्टी कांग्रेस भएको मन्त्री साउदले बताए । ‘नयाँ–नयाँ पार्टी आइरहेका छन् । सोसल मिडिया बाहेक उनीहरुको कतै संगठन छैन। उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनु भन्छन्। पार्टी पद्दतिमा विश्वाश गर्दैनन्,’ उनले भने ।

 

पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न नसक्ने साउदको दाबी छ । त्यही भएर नयाँ पार्टीहरु लगातार विवादमा परिराखेको उनले बताए । यस्तै वामपन्थीको चिन्तन उत्पादन नबढाइ वितरणमात्र बढाउने भएको मन्त्री साउदले बताए ।

 

‘बाँड्दै जाँदा सबैलाई पुग्ने गरि बाँड्नुपर्छ। तर उनीहरु सबैलाई पुग्ने गरि बाँड्दैनन्। कतै धेरै त कतै अनिकाल पर्ने गरि वितरण गर्छन् । आर्थिक अनिकाल आउने परिस्थिति निर्माण गरेको छ तत्कालीन एमाले नेतृत्वको सरकारले,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस