कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध अवहेलना सम्बन्धी मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १६ : ५३
कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध अवहेलना सम्बन्धी मुद्दा दायर

विराटनगर । अदालतका न्यायाधीशले घुस खाएर आदेश दिएको आरोप लगाएका कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ ।राजभण्डारीले केही दिन अगाडि आयोजित एक कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको अभिव्यक्ति दिएका थिए । अभिवक्ता उद्धबचन्द्र घिमिरेले राजभण्डारीले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

 

मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलङ्कको संज्ञासमेत दिएका थिए ।मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरी संविधान र कानुनको उल्लङ्घन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको छ ।

 

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ । यसअघि उच्च अदालत बारले आफ्नो संवैधानिक अप्रमाणित र गैर जिम्मेवार अभिव्यक्ति दिँदै जनतामा न्यायालयप्रति भ्रम सृजना गरिने काम मन्त्रीले गरेको भन्दै आपत्ति जनाएको थियो ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

पुनः उच्च अदालत विराटनगरका न्यायाधीश द्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस