सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई क्षतिपूर्ति दिलाउन अदालतको आदेश

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १९ : ०१
सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई क्षतिपूर्ति दिलाउन अदालतको आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडित किशोरीले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानूनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।

पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराउनुभएको थियो । अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो । तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो ।

तर, सोमबार मुद्दा अन्तिम चरणमा पुगेको र बाँकी विषय निर्णयबाट नै ठहरे बमोजिम हुने भन्दै उपचार खर्च पीडित राहत कोषबाट दिन आदेश गरेको हो । आरोपित सन्दीप लामिछानेका कानून व्यवसायीहरुले भने उनलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गरेका थिए ।