उद्योग विभागका शाखा अधिकृतसहित दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १५ : ३८
उद्योग विभागका शाखा अधिकृतसहित दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिएवाफत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा छानबिन गर्दा दुवैजनाले  भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले केही समयअघि दुवैजनालाई १२ हजार घुससहित पक्राउ गरेको थियो। सेवाग्राहीसँग घुस वापत् १२ हजार रुपैयाँ लिएको पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुरमा  निजहरू घिमिरे र थापालाई बिगो १२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१)  देहाय (क) बमोजिम कैद सजाय गरी सोही  ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम सजायसमेत माग दावी गरेको अख्तियारले अदालतमा पेश गरेको  आरोपपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस