भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा भन्सार विभागमा धर्ना

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १४ : २८
भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा भन्सार विभागमा धर्ना

काठमाडौँ । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना गरेको छ । आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै धर्नामा बसेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाइ राज्यले उचित व्यव्स्थापन गर्नु पर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था कायम गर्न माग गरेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए । उनले ३०० जनाको रोजगारीको ग्यारेण्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताउँदै आन्दोलनमा व्यवसायी संस्थाहरु सबैको साथ सहयोग रहेको जिकिर गरे । सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनको चेतावनी छ ।

धर्नामा मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक भन्सार एजेन्टका रुपमा काम गर्न पाउने व्यवस्था खारेज गरेको बताए । उनले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको बताए ।

त्यस्तै धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारी माथि लात हानेको बताए । उनले २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको बताए । भन्सार प्रतिनिधिहरुले पटकपटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाई नगर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट वञ्चित भएको बताए ।

धर्नामा हाम्रो रोजगारीको सुनिश्चित गर,संविधान प्रदत्त अधिकार कायम गर्,हान्यो वाण प्रतिनिधि जत्थामा,अन्धो सरकार बस्या छ सत्तामा,विभेतकारी ऐन संशोधन गर् भन्ने नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस