प्रतिनिधि सभा बैठकमा के भने सांसदहरुले ?

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १२ : ५४
प्रतिनिधि सभा बैठकमा के भने सांसदहरुले ?

काठमाडौं । सांसदहरुले देशका विभिन्न समस्या र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा सदस्य दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरे । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरे । उनले हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको बताए। उनले आफ्नो गृहजिल्ला दाङमा केहीदिन अघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समिर केसीको मृत्यु भएको भन्दै उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गरे । उनले वडा अध्यक्षले फर्जि जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताए ।

सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत राख्ने सरकारको निर्णय खारेज गर्न माग गरे। उनले सरकारले गरेको यस निर्णयले लोकतन्त्र र जनताको मताधिकारलाई अप्ठ्यारो पार्ने बताए ।

यस्तै सांसद धनबहादुर बुढाले डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका दुईवटा गुम्बामा हतियारधारी समूहले गरगहना, नगद, मुर्ति र बहुमूल्य सामानहरु लुटेको भन्दै लुटेराहरुलाई नियन्त्रणमा लिइ कानूनी कारबाही गर्न माग गरे ।

सांसद अब्दुल खानले प्रादेशिक पहिचानसहितको नेपाली नागरिकता दिन माग गरे। देश संघीय संरचनामा भएको उल्लेख गर्दै उनले प्रादेशिक पहिचानबिनाको नागरिकता अधुरो हुने बताए।

उनले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता प्राप्त गर्न माग गर्ने कागजपत्र धेरै र झन्झटिलो भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । कागजपत्रको झन्झटले गरिब र निरक्षर नागरिक नागरिकताबाट विमुख हुनुपर्ने अवस्था रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस