केन्द्रीय कारागारको बेथिति : आधाभन्दा बढी खाद्यान्न कम्पनीको गोदामबाटै बिक्री गर्छन् जेलर बस्नेत

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १६ : ३१
केन्द्रीय कारागारको बेथिति : आधाभन्दा बढी खाद्यान्न कम्पनीको गोदामबाटै बिक्री गर्छन् जेलर बस्नेत

काठमाडौं।केन्द्रीय कारागार सुन्धाराका जेलर ललित बस्नेतसहित नाइके र चौकीदारविरूद्ध अख्तियारमा उजुरी परेको छ ।सरकारले कैदी–बन्दीलाई उपलब्ध गराउने सिदा(चामल) खरिदमा उनीहरूले भ्रष्टाचार गरेको भन्दै केन्द्रीय कारागारका कैदी बन्दीहरूले दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका  हुन् ।

जेलर बस्नेत कारागारमा आएदेखि चरणबद्धरुपमा अनियमितता भइरहेको भन्दै उनीहरूले चौकीदार प्रभाकर नरसिंह राणा, मूल नाइके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रितम मानन्धरविरुद्ध उजुरी दिएका हुन् । उनीहरू सबैको मिलोमतोमा जेलर ललित बस्नेतले कैदी–बन्दीका लागि सरकारबाट प्राप्त हुने सिदा(चामल)मा भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

जेलर बस्नेत र चैकीदार राणाको मिलेमतोमा दाल तथा चामल खरिदमा कमिसन लिएको उनीहरूको आरोप छ ।केन्द्रीय कारागारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न आपूर्ति गर्दै आएको छ । जेलर बस्नेतले खाद्य कम्पनीबाट आधामात्रै खाद्यान्न किन्ने गरेका कैदी बन्दीहरूको आरोप छ । ‘आधा खाद्यान्न त जेलसम्मनै पुग्दैन, कैदीका नाममा आएको खाद्यान्न खाद्य कम्पनीबाटै बिक्री वितरण हुन्छ’ उजुरीमा भनिएको छ ।

त्यसका लागि जेलर बस्नेतले कम्पनीका कर्मचारीहरूसँग समेत ‘सेटिङ’ मिलाएको कैदी बन्दीहरूको आरोप छ ।यसअघि जेलरकै संरक्षणमा कैदी–बन्दीहरूले कारागारभित्रै लागुऔषध तथा अनलाइन जुवाजस्ता अवैध धन्दा सञ्चालन गरेको भन्दै कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा उजुरी परेको थियो ।‘जेलरका रुपमा कार्यरत ललित बस्नेतले कारागार भित्र रहेका कैदीबन्दीका लागि खरिद गर्ने (सिदा) चामलको खरिदमा घोटाला गरेका छन् । कैदीका लागि खरिद हुने खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाटै सेटिङमा बिक्री गर्ने गरिन्छ ।

साथै जेलरले कारागारको बाहिरी नाइके (आउटर) निकाल्दा प्रतिव्यक्ति ठूलो परिणाममा रकम असुल गर्ने गरेका छन्’ आरोपपत्रमा भनिएको छ, ‘कारागारका चौकीदारहरूबाट मासिक रकम उठाउने गरेको तथा नेपाल सरकारबाट कारागारको मर्मत सम्भारका लागि राज्यबाट आउने रकम आफैले अपचलन गरी कैदीबाटै उठाएर निमार्ण गर्ने गरेको गम्भीर आर्थिक अपचलन गर्ने कार्यमा सलग्न भई पदको चरम दुरुपयोग गरी गैरकानूनी रकम (अकुत सम्पत्ति) आर्जन गरेकाले अनुसन्धान गरी आवश्यक कारवाही गर्नुहुन अनुरोध गर्दछौं ।’

केन्द्रीय कारागारभित्र वर्षौंदेखि यस्ता बेथितिहरू मौलाइरहे पनि नियमनकारी निकायहरूले भने ध्यान दिएका छैनन् । कैदी बन्दीहरूका अनुसार त्यहाँ भएको अनियमितताको विरोध गर्नेहरूलाई मूल नाइके तथा जेलरले सरुवा गरिदिने तथा मानसिक र शारीरिक यातनासमेत दिने गरेका छन् ।

‘निषेधित वस्तुको बिक्री वितरण र महङ्गीको विरोध गर्ने उपर चौकीदार राणा, मूल नाइके लामा, ठूलो प्रितम मानन्धर समेतले शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिलेर जेल स्थानान्तरण समेत गर्ने गरेका छन्’ आरोप पत्रमा उल्लेख गरिएको छ ।हालसालै जेलरको सक्रियतामा दिपकराज दाहाललाई नख्खु कारागार र खेमबहादुर डाँगीलाई नेपालगञ्ज कारागारमा सरुवा गरिएको थियो ।कारागार भित्रको विकृतीविरुद्ध बोल्दा उनीहरू शारीरिक यातना समेत दिएर सरुवा गरिएको कैदी–बन्दीहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस