हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिको छलफल

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १२ : ३८
हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिको छलफल

काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने २९ जनामध्ये २३ जना उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल गरिरहेको छ । बुधबार बिहान ११ बजेपछि उनीहरूसँग समितिका सदस्यहरूले छलफल गरिरहेका छन् ।

बैठकमा प्रत्येक उजुरीकर्तालाई बोल्नका लागि १० मिनेटको समय छुट्याइएको छ । समान प्रकृतिका ३ उजुरी परेकाले समान किसिमका उजुरीकर्तालाई सँगै बोलाइएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको बिहीबार संसदीय सुनुवाइ हुनेछ । समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कतिपय उजुरीकर्ताले कार्की एमाले कार्यकर्ता भएकाले निष्पक्ष न्याय सम्पादन हुन नसक्ने आरोप लगाएका छन् । एक उजुरीकर्ताले कार्कीविरुद्ध लगाइएको आरोपमा भनिएको छ, ‘कुनै पार्टीको सक्रिय राजनीतिमा रही काम गरी बिटुलिएको मानिस कसरी सर्वोच्च अदालतजस्तो न्यायको मन्दिरमा न्यायाधीश नियुक्त हुन सक्छ ?’

कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको ती उजुरीकर्ताको आरोप छ । अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस