नक्कली शरणार्थी प्रकरणः खाँणसहित ९ जना प्रतिवादीको थुनछेक बहस बाँकी

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, ११ : ०८
नक्कली शरणार्थी प्रकरणः खाँणसहित ९ जना प्रतिवादीको थुनछेक बहस बाँकी

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा जारी थुनछेक बहसमा आज प्रतिवादी नरेन्द्र केसीको तर्फबाट प्रतिरक्षा बहस हुँदैछ । केसी पुर्व गृहमन्त्री बालकृष्ण खाँणका निजी सहयोगिसमेत हुन् ।

गत हप्ताको आइतबारबाट सुरु भएको थुनछेक बहसमा सुरुका तीन दिन जाहेरीवालाका तर्फबाट बहस भएको थियो भने बुधबारबाट प्रतिवादीका तर्फबाट बहस भएको थियो ।

न्यायाधीश न्यौपानेले बहसका लागि जाहेरीकर्ताको टिमलाई तीन दिन र प्रतिवादीका पक्षलाई ६ दिनको समय छुट्याएका छन् । सोही अनुरुप प्रतिवादीका तर्फबाट भोलिसम्ममा बहस सक्नुपर्नेछ तर बहसको स्थिती हेर्दा भोलिनै बहस सकिँने देखिँदैन् । जम्मा समय दुई दिनमात्र रहेपनि बहस गर्ने प्रतिवादीको संख्या अझै ९ जना रहेको छ ।

यस प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी,उनका छोरा सन्दीप रायमाझी,सानु भण्डारी,केशव दुलाल,सन्देश केसी,टंक गुरुङ,इन्द्रजित राइ र टेकनारायण पाण्डेका तर्फबाट वकिलहरुले प्ररिक्ष बहस गरिसकेका छन् । भने आज इजलास बस्नासाथ नेरेन्द्र केसीका पक्षबाट जवाफी बहस गर्ने छन् ।

अब केसीसहित कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण,नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया,भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल,लक्ष्मी मर्हजन, हरिभक्त मर्हजन,गोविन्द चौधरी,रामशरण केसी र पुर्व सांसद् आङटावा शेपाको तर्फबाट प्रतिरक्षा बहस हुन बाँकी रहेको छ ।

भोलि सम्ममा बहस सकेर बुधबार फैसला सुनाउने तयारी न्यायाधीश न्यौपानेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस