असार १ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने विद्यालय कर्मचारी परिषद्को चेतावनी

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, १४ : ५३
असार १ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने विद्यालय कर्मचारी परिषद्को चेतावनी

काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आइतवार काठमाडौंको बानेश्वरमा उनीहरूले थाली बजाएर सरकारको विरोध गरेका हुन् । उनीहरूले बजेटमा आफूहरूलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएका हुन् । 

नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भएर विरोध गर्नुपरेको बताए । 

उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस