कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, ०७ : ०९
कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

झापा । झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

यही जेठ १७ गते सम्पन्न २५औँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताए ।

“गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप देखिन थालेको छ”, उनले भने ।

कनकाईका सबै राजनीतिक दलले समेत स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने यस्ता वस्तुको बिक्री–वितरणमा निषेध लगाउन ऐक्यबद्धता जनाएका छन् ।

दलका प्रतिनिधिहरूले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने नगरको निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस