पोखरामा नेपाल लाइफको आफ्नै सुविधा सम्पन्न भवन

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १३ : ०४
पोखरामा नेपाल लाइफको आफ्नै सुविधा सम्पन्न भवन

​काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन गरेको छ ।सोमवार आयोजित एक कार्यक्रमका बीच कम्पनीका संचालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

करिब ३ हजार २२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न संचार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षित भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरमा घर जग्गा खरिद गर्ने योजना रहेको उनले बताए ।

 

अग्रवालले २०७२  मा  संविधान जारी भए पश्चात नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मूर्तरुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए ।गण्डकी प्रदेशको साक्षरता दर, कुल ग्राह्यस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेशवासीलाई उनले धन्यवाद दिए । बीमा क्षेत्रमा गण्डकी प्रदेशले पुर्‍याएको योगदानको उनले प्रशंसा गरे ।

 

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा करिब १० प्रतिशत जनतालाई जीवन बीमासम्बन्धी सेवा प्रवाह गर्दै नेपाल लाइफ स्थापित रहेको उनले बताए ।शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए ।

प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरू स्थानीय  ठाउँबाट प्रदान गर्न सके बीमा सचेतना बढ्न गई बीमाप्रतिको आकर्षण बढ्ने उनको विश्वास थियो ।बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य विमलप्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सीमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएकाले आफ्नै गाउँठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरूको लागि लाभदायी तथा सम्मानजनक रहेको बताए ।समारोहमा बोल्दै यस कम्पनीका संचालक समितिका सदस्य कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर देखिएको बताए ।

हरेक घरमा एक बीमाको आवाधारणलाई मूर्तरुप प्रदान गर्नुका साथ साथै गरिब, सिमान्तकृत समुदायलाई बीमाको दायरा भित्र ल्याउनका निम्ति राज्यले बीमामैत्री नीति अवलम्बन गर्नुपर्ने उनको जोड थियो ।भवन समुद्घाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले पोखरामा घर खरिद गरेर सेवा प्रवाह गर्नु रणनैतिक रूपमा महत्वपूर्ण रहेको बताए ।

आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनको भनाइ थियो ।नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौनीका साथसाथै प्रशस्त अवसरहरू  समेत रहेको उनले बताए । प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशासनिक कार्यहरूको विकेन्द्रीकरण भएकाले सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने उनको विश्वास थियो ।

सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहनेछ । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले स्वागत मन्तव्य राखेका थिए भने कम्पनीको गण्डकी प्रदेशका प्रमुख अनन्त अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

 

facebook sharing button

twitter sharing button

email sharing button

messenger sharing button

sharethis sharing button