शरणार्थी प्रकरण: आजदेखि थुनछेक बहस, खाणको पक्षमा पूर्वन्यायाधीवक्तासहित दर्जन वकिल

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, ०९ : १८
शरणार्थी प्रकरण: आजदेखि थुनछेक बहस, खाणको पक्षमा पूर्वन्यायाधीवक्तासहित दर्जन वकिल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि थुनछेक बहस हुँदैछ। हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आजदेखि जिल्ला अदालत, काठमाडौँमा थुनछेक बहस हुने भएको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै पैसा उठाएर ठगी एवम् गैरकानुनी काममा संलग्न सबैको प्रहरीले बयान भने लिइसकेको छ।

शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयानको बयान लिइएको थियो। यसलगत्तै थुनछेक बहसलाई अगाडि बढाउने कार्य थालिएको हो।

जिल्ला अदालत ,काठमाडौँका अनुसार उक्त प्रकरणमा सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्।

प्रतिवादीका तर्फबाट करिव ५० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन्। ३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरूले दुईभन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिए छ।

करिब १ साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ।

अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्ने छन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ।

जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरू त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउने छन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्टाउन सक्छ।

यता, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाणका पक्षबाट दुई जना पूर्वमहान्यायाधीवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्नेछन्।

खाणका पक्षमा उनी गृहमन्त्री हुँदाको समयमा महान्यायाधीवक्ता रहेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने भएका छन्।

यसैगरी, उनको पक्षबाट नेपाल बार एसोसिएसनकाका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्कासहित दर्जन बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्नेछन्।