चितवन । ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धा्रित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।
भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।
बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । ‘त्यसमा पनि दोस्रो र तेस्रो नम्बरको ठेकेदारले प्रमाणपत्र पाइसकेका छन्,’ उनले भने, ‘पहिलोको काम पनि करिब सम्पन्न भएको छ, चाँडै उसले पनि प्रमाणपत्र पाउनेछ ।’
विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो । यो परियोजना सुरु हुनुभन्दा अघि नारायणगढ–मुग्लिङ सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । ‘यो एसियाली राजमार्गको मापदण्डअनुरूप डबल लेन सडकमा स्तरोन्नति भएको छ,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने ।
राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए ।, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस