ए डिभिजन लिगः एनआरटीमाथि पुलिसको रोमाञ्चक जित

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १९ : ३९
ए डिभिजन लिगः एनआरटीमाथि पुलिसको रोमाञ्चक जित

काठमाडौं । विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १–० को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा मोसेसले खेलको ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिसले एनआरटीमाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो । निकै रोमाञ्चक बनेको खेलमा रवी पासवानले उपलब्ध गराएको पासलाई मोसेसले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । यस अघि दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । २०औं मिनेटमा कृतिशरत्न छुन्जूको प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ३०औं मिनेटमा निकोलस सङ्गको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एनआरटीले अग्रता लिने सुनौलो अवसर गुमायो ।

दोस्रो हाफमा फरक रणनीति सहित आक्रामक खेल देखाएको पुलिसले अग्रता लिएसँगै एनआरटीलाई दबाबमा राख्दै खेलेको थियो । ७९औं मिनेटको अग्रता पछि १० मिनेट पछि सौजन राईको कर्नरमा अन्जन राईको हेडरबल बारमा लागेर बाहिरिँदा पुलिसको अग्रता अवसर खेर गएको थियो । इज्जुरी समयमा कप्तान विक्रम धिमालले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिए पनि बाँकी समयमा थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा जोड्न सफल भयो । यससँगै पुलिस लिगमा एनआरटीबिरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट १–१ को बराबरीमा सकिएको थियो । बिहीवारको जितसँगै पुलिसले २३ खेलमा ३४ अकं जोड्न सफल भएको छ । पुलिस चौथो स्थानमा कायमै छ । पराजय व्यहोरेको एनआरटी २३ खेलमा २९ अंकका साथ नवौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीवार नै च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेल खेले पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

यससँगै जारी लिगमा २३औं चरणका खेल सम्पन्न भएका छन् । २३औं चरणको खेल सम्पन्न हुँदा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले ४१ अंक जोड्दै शीर्षता राखेको छ । साविक विजेता मच्छिन्द्र ३९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा जावलाखेल ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यस्तै पुलिस चौथो स्थानमा अटाउँदा विभागीय टोली त्रिभुवन आर्मी पाँचौ स्थानमा छ । यस्तै खुमलटार र फ्रेण्ड्स रेलिगेशन क्षेत्रमा बच्नका लागि संघर्ष गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस