काभा वुमन्स भलिबलमा आज सेमिफाइनलका खेल हुने

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, ११ : १०
काभा वुमन्स भलिबलमा आज सेमिफाइनलका खेल हुने

काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ ।

नेपाललले दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोलीको रुपमा रहेको काजखस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस क्रममा काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलंका र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलंका र उज्वेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

यता घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

एसियालीदेखि विश्वस्तरसम्म नै खेल्दै आएको काजखस्तान यस प्रतियोगिताको उपाधिको ठूलो दाबेदारको रुपमा छ । लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपालको लागि काजखस्तान ठूलो परीक्षाको रुपमा हुनेछ । बलियो टोली भएपनि यस पटक काजखस्तानको टिममा युवा खेलाडीहरुको बाहुल्य छ । एक जना खेलाडी मात्र ३० वर्षका छन् भने बाँकी सबै सन् २००० भन्दा यता जन्मेका खेलाडीहरु छन् 

प्रतिक्रिया दिनुहोस