प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्छ : योगेश भट्टराई

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, २० : २८
प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका व्यक्तिसँग प्रहरीले बयान लिन सक्ने बताएका छन् ।

बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले आरोपित गर्छ भने प्रहरीले बोलाएर सोधपुछ गर्न सक्ने बताएका हुन् । प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्ने उनको भनाइ छ ।

भट्टराईले भनेका छन्, ‘…अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भएपनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका केशव दुलालले प्रहरीसँगको बयानका क्रममा आफूले ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै भेटेर १ करोड रुपैयाँ दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस