शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिदै

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, ०७ : १७
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज (मंगलबार) पुनः म्याद थपिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने भएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यस प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्ष अगाडिदेखि प्रक्रिया सुरु गरेको थियो । नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन दिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि हुने उनको भनाइ छ ।

यसैबीच करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन पेस गरेको हो ।

उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेसहितको आठ जनाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउने छ ।

यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ । प्रहरीका अनुसार संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । यो प्रकरणमा थप प्रमाणहरू फेला परेमा प्रतिवादीको संख्या थपघट हुन सक्ने पनि जनाइएको छ । पक्राउ परेका १६ र फरार १६ जनाबाहेकविरुद्ध पनि प्रमाण भेटिएमा मुद्दा चलाउन मिल्ने गरी अभियोजन दर्ता गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस