चितवनमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे कार्यशाला

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १६ : ५५
चितवनमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायबारे कार्यशाला

चितवन। चितवनमा जलवायु परिवर्तनका असर, अनुकुलन र न्यूनीकरणबारे कार्यशाला भएको छ ।विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सप्तगण्डकी बहुमुखी क्याम्पस विज्ञान विभागले सो कार्यशाला गरेको हो ।क्याम्पसका प्राध्यापकहरु र वाताबरण विज्ञान स्नातक चौथो वर्षका विद्यार्थीहरु सहभागी कार्यशालामा त्रिभुवन विश्वविद्यालय वनस्पती विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा भरतबाबु श्रेष्ठले ‘मौसम परिवर्तनले पारेको जैविक असर’, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका सहप्राध्यापक डा रमेशराज पन्तले ‘ नेपालमा जलवायु परिवर्तनको असर, अनुकुलन र न्यूनीकरण’ र ‘जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पानीको गुणस्तरमा पारेको असर’ विषयमा आफ्नो प्रस्तुतीहरु दिएका थिए ।

उनीहरुले विश्वभर गरिएका विभिन्न अनुसन्धानका तथ्यहरु प्रस्तुत गर्दै मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढेको र जलवायु परिवर्तनको प्रभाव अझ बढ्ने चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेको विज्ञहरुले कार्यशालामा उदाहरणसहित स्पष्ट पारे ।डा पन्तले नेपालजस्तो जोखिममा परेको मुलुकले पनि अप्रत्यासित विपद् खेप्नुपरेको बताए । उनले भने, ‘नेपालका ३२ वटा हिमतालहरु जलबायु परिवर्तनको कारणले फुट्न सक्ने खतरामा रहेका छन् । यसले व्यक्तिगत र सामुदायिकरुपमा सबैलाई फरकफरक प्रकारले असर गरिरहेको छ । पानीको मुलहरु सुक्ने, कृषि क्षेत्रमा कम उब्जनी हुने जस्ता समस्याहरु नेपालमा देखिएको छ ।

नेपाल र नेपालजस्ता देशका लागि यो चिन्ताको विषय हो’ हेर्दा वा सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान परिवर्तनका कारण अहिले नै ठूलाठूला असर पर्न थालिसकेको विज्ञहरूले कार्यशालामा बताएका छन् । नेपालको हकमा यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर पर्ने जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पारेको विज्ञहरुले बताए । यसको लागि व्यक्तिगत र सामुहिकरुपमा नागरिकलाई सचेत गर्नुका साथै सहीरुपमा फोहोरको व्यवस्थापन, विपद्सम्बन्धी पूर्वसुचनाहरु दिने प्रणालीको विकास, स्पष्ट र योजनागतरुपमा वातावरणमैत्री विकास गर्न सके जलबायु परिवर्तनलाई न्यूनीकरण गर्न सकिने विज्ञहरुले कार्यशालमा विचार राखे ।

 

सप्तगण्डकी क्याम्पस विज्ञान विभागका प्रमुख रविराज सुवेदीले वातावरण विज्ञान अध्ययनरत विद्यार्थीहरुलाई कार्यशालाले भविष्यमा जलवायु परिवर्तनको क्षेत्रमा योजना, नीति बनाएर विभिन्न सरकारी र गैरसरकारी क्षेत्रमा काम गर्न सजिलो हुने गरी प्रयोगात्मक ज्ञान दिन कार्यशाला गरिएको जानकारी दिए । समाजमा यसबारे सचेतना गराउन पनि जोकोहीलाई यस्ता कार्यशाला आवश्यक पर्ने उनले विचार राखे ।कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, सहप्राध्यापक डा कपिलदेव सुवेदी र उपप्राध्यापक रामकृष्ण खनालले कार्यशालाको महत्व र उद्देश्यबारे मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस