कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगे सभामुख

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १९ : ५५
कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगे सभामुख

काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई आज साँझ सभामुख देवराज घिमिरेले भेटेका छन् । भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभामुख बत्तिसपुतलीस्थित निवासमा पुगेका हुन् । 

सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताए । 

उनले भने– सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ । घटनापछि मलाई केही कुराहरु सदनमार्फत जनतालाई सुनाउन मन छ । जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ । तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभामा कठीन अवस्थामा पनि अभिभावकत्व निर्वाह गर्नुभयो । सम्माननीयज्यूबाट पनि संसदको अभिभावत्व कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने लागेको छ ।

सभामुखले भने( चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौं । तर, जीवन रहे बोल्ने अवसर त आइहाल्छ । अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।

संघीय संसदमा महासचिव डा। भरतराज गौतमले भण्डारीको स्वास्थ्यले साथ दिएमा सचिवालयले विशेष व्यवस्था गर्ने बताए ।  २०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई फागुन ४ गते श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराएर उनी वैशाख १७ गते काठमाडौं आएका थिए । उनी अहिले पनि उपचारमै छन् ।

प्रतिक्रिया दिनुहोस