भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १४ : ३१
भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताए ।

उनले भने, ‘यो कुरा पछिल्ला केही कारबाहीबाट प्रष्ट भएको छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । त्यसका साथै भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरूदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको प्रधानमन्त्रीको भनाइ छ । उनले भने, ‘सुशासन, समृद्धि तथा समाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयन गरिएका छन् । सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र विचौलियाहरूबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको छ । विद्यालयहरुमा समयमै पुस्तक पुगेको छ । किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस