रास्वपा सांसद झाको प्रश्न- शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुको तारनतार भेट किन ?

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १३ : ४९
रास्वपा सांसद झाको प्रश्न- शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुको तारनतार भेट किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढिरहेको बेलामा तीन दलका शीर्ष नेताहरुबीचको भेटवार्ताले आशंका पैदा गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले अहिले तारनतार भेट्नुपर्ने कुनै कारण नभएको औंल्याए । उनले भने, ‘तीन दलका नेताहरु पटक पटक भेटिरहेको समाचार हामी सुन्छौं । देशमा केही आपत्त परेको बेला जस्तैः बाढी, पहिरो, भूकम्पलगायत आपत्त परेको बेलामा नेताहरु यसरी तारनतार भेटिरहेको समाचार सुन्दैनथ्यौं । तर, अहिले किन सुनिन्छ ? त्यसमा उहाँहरुको आकर्षण किन देखिन्छ ? सम्भावित व्यक्तिहरु भाग्न पनि नपाऊन् । यसको आशंकामा भएका नामकरणको विषयमा सेटलमेन्टमा आएका विषयहरु पनि बाहिर नआओस् ।’

 

उनले यो प्रकरणमा जोडिएकाहरुलाई प्याकेजमै बाहिर ल्याएर सबै शंकास्पद व्यक्तिलाई घेरामा राखेर छानबिन गर्न माग गरेका छन् । सांसद झाले भने, ‘अन्यथा हामी अरु देशमा भएको जस्तो लामो आन्दोलनको तयारी गर्दैछौं । त्यसको लागि राज्य तयार छ भने त्यो आन्दोलनका लागि हामी पनि तयार छौं यदि हाम्रो आवाज सुनिँदैन भने । तसर्थ यसलाई गम्भीरतापूर्वक हेरियोस् ।’

प्रतिक्रिया दिनुहोस