नक्कली शरणार्थी प्रकरण मिलाउन प्रमुख ३ दलको बैठक बस्ने गरेको रास्वपाको आशंका

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, ११ : ०५
नक्कली शरणार्थी प्रकरण मिलाउन प्रमुख ३ दलको बैठक बस्ने गरेको रास्वपाको आशंका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । आईतवार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद प्रभावकारी बनाउनुपर्ने बताए । उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए ।

नक्कली भूटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको दाबी गर्दै उनले बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरुको बैठक बसिरहेको र त्यसले संसदलाई बन्दी बनाउने अशंका उब्जाएको बताए । बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरु संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको उनको भनाइ छ ।

‘सभापतिले राख्नुभएको कुरा, उहाँहरु बस्न पाउनुहुन्छ, सत्ता पक्ष, प्रतिपक्ष, के कसरी लैजाने भन्ने कुराका लागि तर तीन दलका शीर्ष नेताहरु बसेर संसदलाई बन्दी बनाउन पाइँदैन । संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्छ,’ उनले भने, ‘तर तीन दल कुनै न कुनै हिसावले भूटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरुसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन । आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भएपनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरु अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’

प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरुलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस