शरणार्थीका विषयमा दबाब आइरहेको छ, तर दोषी सबैलाई कारवाही गर्छौं : मन्त्री धनराज गुरुङ​

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १६ : ०२
शरणार्थीका विषयमा दबाब आइरहेको छ, तर दोषी सबैलाई कारवाही गर्छौं : मन्त्री धनराज गुरुङ​

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताए । “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो, सरकार त्यही अनुरूप अघि बढेको छ” उनले भने ।भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए ।

उनले घटनामा संलग्न जो सुकै भए पनि कानूनी दायरामा ल्याइने उनको भनाइ छ।“भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ”, उनले भने।शरणार्थीको विषयमा दबाब आइरहेको बताउँदै उनले भने, “जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।

”पाली काङ्ग्रेसका उपसभापति समेत रहेका गुरुङले भ्रष्टाचारको मुद्दामा नेताहरू मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए । नेपाली  काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिनमा होस भन्ने रहेको उनको भनाइ छ । छानबिनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले जानकारी दिए । अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टाचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस