सुपर दोर्दी ‘ख’को ५४ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडियो

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १३ : २९
सुपर दोर्दी ‘ख’को ५४ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडियो

लमजुङ । लमजुङ - लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि रास्ट्रिय  ग्रिडमा थपिएको हो ।आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन भएको विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तीपूर  सबस्टेसनमा जोडिएको छ ।आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीका कारणले निर्माण प्रभावित हुँदा धकेलिँदै आएको थियोे  । ०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको आयोजनाबाट वार्षिक ३१४.९८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ ।आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुराइएकाे हो ।

प्रतिक्रिया दिनुहोस