सडक निर्माण रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढे युवक

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १० : ५७
सडक निर्माण रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढे युवक

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् ।सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिबार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन् । उनी हाइटेन्सन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ ।‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।

 अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने वातावरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो । गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन् ।

प्रतिक्रिया दिनुहोस