स्वास्थ्य बीमाको उपचार सरल बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, २० : ५३
स्वास्थ्य बीमाको उपचार सरल बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताए । “स्वास्थ्य बिमा कार्यक्रममा एक रूपता पनि भएन”, उनले भने, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”

मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताए । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उनको भनाइ थियो । उनले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताए ।

मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताए । “स्वास्थ्य नीति राम्रो बनाउन सक्ने हो भने दातृ निकाय स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेका छन्”, उनले भने, “हामीले स्वास्थ्य नीति बनाएर वैदेशिक सहयोग भित्र्याउनुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस