राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव पोखरेलले लिए शपथ

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, १६ : ५३
राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव पोखरेलले लिए शपथ

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रुपमा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन्।सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग पोखरेलले शपथ लिएका हुन्।

अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्य हुन्छ। गत साता अर्थसचिवका रुपमा सरकारले पोखरेललाई चयन गरेको थियो।तोयम राय सरुवा भएपछि पोखरेल आएका हुन्। सचिव पोखरेलले सपथ लिएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठकलगायत अन्य काम कारबाहीमा सहभागी हुन पाउँछन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस