सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

एजेन्सी

शनिबार, २३ बैशाख २०८०, १३ : ०२
सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । शनिबार बिहान काठमाडौँको वनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज/भोलि नै गराउने पनि बताए । उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात् गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘मानव सेवा जस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन र यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरोतर्फबाट व्यक्तिगत रूपमा पनि म सधैँ तपाईंहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । जसरी तपाईहरुले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको मान्छेको रूपमा आफ्नो पहिचान बनाउनु भएको छ । त्यस्तै गरी म कामद्वारा नै तपाईंहरुको यो उद्देश्यलाई सफल पार्न सहयोग पुर्‍याउन चाहन्छु । त्यसको निम्ति आज नै म सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा यसलाई कार्यसूची बनाएर म छलफल गर्नेछु । सम्माननीय प्रधानमन्त्रीज्यूको पनि अहिले देशमा जे जति राम्रा कामहरू छन् । सबैलाई हामीले आत्मसात् गरौँ । सबैलाई स्थापन दिऊ । सबैको सम्मान गरौँ । र, त्यसमार्फत हामीले जे–जे गर्नु पर्छ । र, त्यो कामलाई निरन्तरता दिन जे–जे सहयोग गर्नु पर्छ । त्यो गरौँ भन्ने दृष्टिकोण र धारणा रहेको छ । त्यसकारणले उहाँसँग समेत सरसल्लाह गरेर सरकारको तर्फबाट यो मानव सेवा आश्रमलाई जीवित राख्न, यसलाई सञ्चालनमा ल्याई राख्न र यो सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण प्रयत्न सरकारको तर्फबाट गर्ने पनि म विश्वास दिलाउन चाहन्छु ।’

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए । उनले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराए । त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरूले अबको २ वर्ष भित्र सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराए ।

प्रतिक्रिया दिनुहोस